Our History

थकाली जातिको ऐतिहासिक पृष्ठभूमी

थकालीजाति बारे धेरै खोज अनुसन्धान भएको पाईन्छ । आ-आफ्ना तर्कहरु पोखेका भए पनि ठोस आधारसिला भनेकै थकालीजातिका आदि पुर्खाहरुले लेखाईएका पौराणीक धर्मग्रन्थ “र्‍ह (वंशगाथा) नै बलियो प्रमाण हुन आउछ र जुन र्‍हप ग्रन्थ थकालीजातिको बाह्र वर्षे ल्ह्फेव धार्मिक पर्वमा चारै थरका पाँडेहरु द्धारा वाचन गरिन्छ । थकालीजातिको र्‍हप धर्म ग्रन्थमा वर्णन गरिए अनुसार थकालीका आदिपुर्खाहरु थाचनखे गौचनका पुर्खा ऐनि एैरम, तुलाचनका पुर्खा सम्लेढेन सम्लेच्याङ्, शेरचनका पुर्खा ढाक्पा क्हेल्चन र भट्टचनका पुर्खा पाउकुति  थिए भन्ने वर्णन गरिएको पाइन्छ  र परापूर्वकालमा गौचनका पुर्खा एैनी एैराम विभिन्न गाँउहरु घुम्दै आजको टुक्चे गाँउपारीको क्ह्‍यतो प्ह्रा ( पैरो जाने भीर ) मा आई पुग्दा भट्टचन थरका पुर्खा पाउकुतिलाई भेटे दुवैजना मृगको शिकार खेल्दै तमु पुगे त्यहाँका मानिसहरुले अनौठो किसिमले केश कोरेको देखेर यिनीहरु तमुका थातनका पुर्खा हुन भन्ने  परिचय ऐनी एैरामलाई पालाकुतिले दिए । त्यस पछि थाकखोला क्षेत्रको विभिन्न गाँउहरु घुम्दै फलाटे र्‍हप अनुसार कल्साइ पुगे । उनीहरुले सिस्नुका झ्याङले बाटो पहिल्याउन नसकेकोले बाटोमा भेटिएका स्थानीय मानीससँग बाटो सोधे  । बाटोबाटै जाऊ भन्ने रुखो जवाफ दिएकाले क्रोधित भएका ऐनी एैरामले हिउँदे बालीले वर्षा खान वर्षे बालीले हिउँदमा खान नपुगोस् सिस्नु नै खानु परोस् सिस्नु नै लगाउनु परोस् भन्ने जस्ता अविश्राप दिए । त्यहाँबाट पुनः पुरानै बाटो फर्किए फर्कदा हालको रुप्से छहरामा ४ चनको देवदेवी र ४ पुर्खाको भेट भयो । यसैले यस ठाउँको नाम रुप्से छहराको नाम ह्याम क्यू अर्थात् मिलन खोला नामाकरण गरियो । यसै ठाउँमा थकालीका ४ पुर्खाहरुले आफ्ना देव देवीहरुसँग जहाँ ह्यूल पुन त्होर्छे गाउँको (सरदारको झण्डा) फहराएको छ । त्यहाँ आउनु भई त्यस स्थानको रक्षा गरिदिनुहोस् भन्ने अनुय विनय गरी अगाडि बढे । कुन ठाउँमा बसोबास योग्य छ भनी परीक्षण गर्ने क्रममा पानी तौलंदा (परीक्षण) गर्दा कालो पानीको पानी सबैभन्दा गरुँगो भेट्टाएकाले यसको नाम आमा कालोपानी राखिएको हो । त्यहाँबाट यी ४ पुर्खा सोनम झोंग पुगे, त्यहाँबाट नघुंङ सोम्पेस पुगे यहाँको माटो तौलदा सबैभन्दा गरुंगो पाए । त्यहाँबाट नरसांग गाउँ हुँदै नरिल्हेत्होङ पुगे । यहाँको ढुंगा सबैभन्दा गरुंगो पाए । तसर्थ ऐनीएैरामले यही भूभाग नै बसोबासको लागि सर्वोत्तम स्थान हो, जहाँको पानी, माटो र ढुंगा गरुंगो छ । यहाँ बसेमा हामीले प्रसिद्धी कमाउन सक्छौं भन्ने विचार पोखे । यसमा सहमत भई ४ पुर्खा नरिल्हेत्होङमा बसोबास गर्न थाले ।

यस घटनापछि र्‍हपमा यी ४ पुर्खालाई सामुहिक रुपमा थाचन खे अर्थात् थाचनका पुर्खा भनी वर्णन गरिएकोले यो बेला यो भेगको ठाँउको नाम था थियो, यहाँ बसोवास गरेका चनहरु भएकाले थाचन भनिएको बोध हुन्छ । किन भने गौचन थरको र्‍हपमा थकालीमा ४ पुर्खाहरु तमू आईपुग्दा यहाँका निवासीलाई तमू पुर्खा खेतमुर थातनका पुर्खा भनी वर्णन गरिएकोले यो भेग पहिले तमूको आधिपत्यमा थियो भन्न सकिन्छ ।

र्‍हप अनुसार थाचनहरु नरिल्हेत्होंङ गाउँमा बसोबास गरेको ३ वर्ष पुगेपछि शेरचन थरका पुर्खा ढाक्पा घेल्सांङले सोनम झोंङका राजा ग्याल्टेलाई मारौं भन्ने सल्लाह गरे यस सल्लाहलाई अन्य ३ पुर्खाले स्वीकारे । ग्याल्टेलाई मार्न तमूहरुको सहयोग लिनुपर्छ भन्ने कुरामा एकमत भए । भट्टचन थरका पुर्खा पाउकुती थातन (तमू) हरुलाई आफ्नो पक्षमा ल्याउने बचन दिए । उनले विगत ३ वर्षदेखि थातनहरुसँग सम्पर्क कायम गरेको कुरा पनि बताए सल्लाह मुताविक थाचनहरुले थातनहरुसँग मिली सोनमझोंङ आक्रमण गरे । लडाई लड्दै जाँदा थाब्रि क्ह्यम सन्तोमा पुगे । त्यस ठाउँमा १ दिन १ रातको लडाईपछि त्यहाँका राजा ग्याल्टे उनकी रानी र सन्तानहरु मारिएपछि फौज भागे । ग्याल्टेको दरबारलाई थाचनहरुले आफ्नो घोषित गरी त्यहाँ चन त्होर्छे अर्थात् रातो झण्डा फहराए यो थाक्योंङर नै त्यो ठाउँ हो जहाँ हामी भेला हुन सक्छौं । साथै भोजन गर्न सक्छौं भन्ने घोषणा गरे । यसपछि थाचनहरु नरिह्योत्होङ फर्किए र को सँग वैवाहिक सम्बन्ध जोड्ने भन्ने बारेमा छलफल गरे । ढाक्पा घेल्साङले थाक्योंरका निवासीहरु हामीभन्दा (थाचन) तल्लो स्तरका भएकाले उनीहरुसँग विवाह गर्न हुन्न भन्ने राय व्यक्त गरे । यस्तो विचार सुनेर ऐनीएैरामले ढुचेका राजा हंस राजको छोरीहरुसँग विवाह गरी सम्बन्ध जोड्नु वेश हुन्छ भन्ने विचार पोखे । उनको विचारमा सहमत भई सबै थाचनहरु हंसराज कहाँ पुगे र आफ्नो पूर्वजबारे विस्तृत वर्णन गर्दा हंसराजा खुसी भई आफ्ना चार छोरीहरुको विवाह थाचनहरुसँग गराए । यसै कारणले माईति राजा भनी थाचनहरुले हंशराजा र ङीम रानीलाई हरेक शुभ अशुभ कार्यमा पुकारिने गरेको पाइन्छ ।

यस विवाहको केही कालपछि थाचनहरुको समक्ष आफ्ना सन्तानको विवाह को सँग गराउने? भन्ने नयाँ समस्या खडा भयो । बाबुको स्थान लिने पुत्र र सासुको स्थान लिने बुहारी नहुने भयो भनेर थाचनहरुले चिन्ता गर्न थाले । किनभने हंसराजाले थिन घरब झोंङका राजा ङीम रानीसँग विवाह गरे पनि उनी निसन्तान थिइन् । अतः खे ढाक्पा घेल्सांङले अब यस भेगमा हामी बरावरका कोही रहेन भनी छलफल गरे । आफ्ना सन्तानको विवाह कोसँग गराउने ? भनी छलफल गर्दा ४ चनकै सन्तानभित्र वैवाहिक सम्बन्ध जोड्ने प्रस्ताव राख्दै था गाउँका अरुसँग रक्त मिश्रण गर्न नहुने विचार खे ऐनी एैरामले पोखे । यसो गर्दा आजसम्मको एक बन्धुत्व (दाजु भाई)को नाता समाप्त हुने भयो भनी ऐनी एैराम चिन्तित हुन थाले त्यो देखेर तुलाचनका पुर्खा समलदेन समलच्याङले ४ चनका सन्तानमध्ये कान्छोको सन्तानले एक आपसमा वैवाहिक सम्बन्ध नजोडी दाजुभाइकै सम्बन्ध कायम राख्ने राय व्यक्त गर्दा भट्टचनका पुर्खा पाउकुतीले कान्छोको सन्तानलाई त्ह्यातन नामाकरण गरे । जसको अर्थ चनको जरा मूल भन्ने थियो । आजसम्म पनि थकाली जातिको ४ चनभित्र त्ह्यातन उपथर रहेको छ । त्यसमध्ये शेरचन त्ह्यातनको अपुताली परेकाले समाप्ति भएता पनि अन्य ३ थरका त्ह्यातन कायमै छ र आजसम्म यी ३ थरका त्ह्यातनहरुमा वैवाहिक सम्बन्ध चलाईएको छैन । यस प्रचलनलाई दृष्टिगत गर्दा र्‍हपमा वर्णन गरिएको कुरामा निकै सत्यता भएको कुरा ठहर छ । यसरी विवाहको समस्या समाधान भएपछि चाड पर्वको तर्जुमा गर्नेतर्फ थाचन पुर्खाहरु लागे । न्हाराप्हुन्जुङ लाई गुरु मानी प्रत्येक चन थरमा झाँक्री (ट्होम) को व्यवस्था गरे । चाढ पर्व उत्सव सञ्चालन गर्ने झाँक्रि प्राप्त भएकाले चाड निर्धारण गरे । फाल्गुण तोरण महिनाको द्वादसीदेखि फागु पूर्णिमा पर्व पितृ पूजा चेली ज्वाईलाई भोजन गराई पुरुषहरु धनुषवाण खेली महिलाहरुले कै ढुंगा गोटी खेलेर मनाउने निधो गरियो ।

यसरी ४ थर रीतिथिती निर्माण भईसकेपछि थकालीका ४ पुर्खाहरुले आपसमा छुट्टियौं भन्ने प्रस्ताव राखे । प्रस्ताव अनुसार गौचन थरका पूर्खा ऐनी एैराम नरिल्हेत्होङबाट नघुंङ्ग घ्युण्डी सोम्पी स पुगे, यहाँ गाउँ बसाई आफू नफ्रुङमा बसे ढाक्पा घेल्सांङले यसको नाम चनद्वारा बसाएको नफ्रुङकोट राखे । तुलाचनको पूर्खा सम्लेदेन सम्लेच्याङले नरिल्हेत्होङबाट छुट्टिएपछि त्होचोमा बस्ती बसाले तर आफू भ्हुतिक्हांङमा बसे । यसको ठाउँको नाम भुर्जुङकोट राखियो । ढाक्पा घेल्सांङले कोवाङ गाउँमा बसाई सोनमझोंङमा बसे र सोनमझोंङको नाम उनले नै नझोङ राखे । पाउकुतीले खन्ति गाउँ बसाली आफू नरसाङमा बसे, नरसाङको नाम उनले नरिकोट राखे । यसरी थाचनहरु छुट्टिएर ४ ठाउँमा बसोवास गरेपछि कोवाङमा एउटा कोट निर्माण गरी चनत्होर्छे (रातो झण्डा) फहराए । यो कोट केही समयअघि मात्र कोवाङ हाई स्कुलमा सारिएको छ । त्यहाँ आज पनि पुरातन ढाल, तरबार, तोपहरु राखिएको छन् । र्‍हपको यस बर्णनबाट आजकाल थाक खोला भनेर चिनिने भूभागमा आइ थाक्योंङर नामक गोष्ठि राज्य स्थापना गरे ।

थकाली जातिको ४ थरकै र्‍हपमा सिंजापतिको चन्दनको बोटलाई पुज्दा रातो, हरियो, सेता र काला चराहरु विभिन्न दिशामा उडेको सो रुखलाई काट्दा ४ थरका पुर्खाहरुले धारण गर्ने हतियारहरु ऐनी एैरामको धारणा गर्ने हतियार बन्चरो दुवैतर्फ धार भएको हतियार समलेदेन सम्लेच्याङको हतियार घन ढाक्पा घेल्साङको हतियार कोदाली जस्तो चुच्चो फलामे हतियार र भट्टचनको पूर्खा पाउकुतीको हतियार तरबार उत्पन्न भएको वर्णन गरिएको छ । र्‍हपमा चन्दनको बोटबाट रातो, हरियो, सेतो र कालो यी ४ रंग ४ थरका देव देवीको प्रतिक रंग हुन् । चरा विभिन्न दिशामा उडेपछि ४ चनको देव देवी उत्पन्न भएको र सो देव देवीको खोजीमा सिंजापतिबाट ४ चनका पूर्खाहरुले यात्रा सुरु गरी थाहालको थासाङमा आई पुगि बसोबास शुरु गरेको वर्णन भएको छ र कालान्तरमा नव संस्कृति थकाली र थासाङ संस्कृतिको प्रादूभाव भएको हो ।

  • image
  • image

सम्पर्क ठेगाना

थकाली सेवा समिति नेपाल, केन्द्र
केन्द्रीय कार्यालय
विनायकबस्ति, बालाजु
काठमाडौं, नेपाल
01-4381362
thakalicc@yahoo.com
thakalisamaj.org