“स्वर्ग जस्तो थाक सातसय हाम्रो गौरव र अभिमान !
“भाषा संस्कृति र सम्पदा जोगाउने हाम्रो अभियान !!

सर्वप्रथम स्वदेश तथा विदेशमा रहनु हुने सम्पूर्ण आदरणीय महानुभावज्यूहरुमा हार्दिक न्यानो अभिवादन !!

सर्व विदितै भएको कुरा हो, नेपाल बहुजाति, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषता भएको देश हो । अनेकन विविधता बीचको एकता सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भाव आजको आबश्यकतालाई आत्मसात गर्दै, थकाली सेवा समिति नेपाल (केन्द्र) आदिवासी जनजाति महासंघ संग हातेमालो गर्दै आफ्नो समाज र राष्ट्रको हक हितमा सदैव अग्रगामी पविर्तनका लागि प्रयत्नशिल हुने छ भन्ने कुरा विश्वास दिलाउनु चाहन्छु ।
थकालीजाति नेपालको ५९ आदिवासी जनजाति मध्ये उन्नत समुहमा दरिएको दुई जाति मध्य एक हो, यस जातिको आफ्नै छुट्टै पहिचान छ , आफ्नै भूभाग, भेष–भूषा भाषा संस्कृति संस्कार छ । यस जातिको पुर्ख्याैली भूमि धौलागिरी अंचल, मुस्ताङ् जिल्लाको दक्षिणी भेगमा अवस्थित थाक सातसय क्षेत्रका १३ गाँउहरुको समूहलाई मानिन्छ । थकालीजातिको उद्गम थलोको रुपमा चिनिने थासाङ् प्राकृतिक हिसावले अत्यन्तै सुन्दर ठाँउ हो । हाम्रा पूर्खाहरुका बलिदान र योगदानले सिर्जित हाम्रा नरसाङ् गोम्वा लगायत अन्य गोम्वाहरु र सम्पूर्ण क्ह्यूका खिमी त्हिम, चारै प्ह्याका ल्ह् त्हिम ऐतिहाँसिक धरोहर बहुमूल्य सम्पदाहरु हुन् । यी सम्पदाहरु र आफ्ना भेष–भूषा भाषा संस्कृति संस्कारको संरक्षण संवर्द्धनमा योगदान दिनु, हामी सबै थकालीहरुको कर्तव्य हुन आउछ र यस पुण्य कार्यमा हाम्रो थकाली समुदायलाई एकजुट हुनको लागि आग्रह गर्दछु ।

आदरणीय महानुभावज्यूहरु आज हामी विश्वभूमण्डलमा जहाँ रहे पनि हामी थकाली समुदायको आदर्श र पहिचान आज जुन अवस्थामा छ, त्यो पुर्खाहरुकै उपज र हाम्रो निरन्तरताले सम्भव भएको हो । आदिपूर्खाहरुको राम्रा पदचिन्हरुको अनुशरण गर्दै र तत्कालिन सांस्कृतिक ,धार्मिक,र सामाजिक पक्षमा सर्वोपरि पक्षमा युग सुहाउदो समृद्धि र सुदृढ गर्दै युवापुस्ताहरुलाई बढिसे बढि सहभागि गराई सुन्दर, सभ्य र सुसंस्कृतजन्य समाजको स्थापित गर्दै राष्ट्रलाई टेवा दिनु पर्ने आजको अहम् आवश्यकता हो । “झ्यालहरुलाई खुल्न दिनु पर्छ, फूलहरुलाई फुल्न दिनु पर्छ” भन्ने माओत्सेतुङको भनाई निकै सान्दर्भिक ठानेको छु । अब हामीहरु बीच सोचमा परिवर्तन आउन जरुरी छ । यहाँ वीलियम शेक्सपेरको भनाईमा म सहमत छु – “Nothing is good or bad ,but thinking makes it”, हाम्रा रूढिवादीका बन्द मानव मस्तिष्कका झ्यालहरुलाई खुल्न दिनु पर्छ । समुदायका युवा वर्गलाई नयाँसोचका साथ समाज हाक्न अवसर दिनु पर्छ । अनि मात्र समाजले नयाँ आयाम पाउन सक्छ । The future belongs to those who believe in the beauty of their dream.

सबैभन्दा हाम्रो भाषा लोप होला भन्ने सबैमा चिन्ताको विषय भएको छ । जब हामी हाम्रो उद्गमस्थलबाट विभिन्न कालखण्डमा विस्थापित भई विभिन्न स्थानहरुमा छरिएर बस्न थाल्यौ, त्यतिबेलादेखि नै हाम्रो भाषाले निरन्तरता पाएन अनि हाम्रो भाषा ओझेलमा पर्न शुुरुवात भएको कटु सत्य हो । अझैं पनि हामीले आँखा चिम्लेर बस्ने हो भने अबको वीस वर्षपछि हाम्रो समुदायमा भाषा बोल्ने मान्छे खोज्नुपर्ने अवस्था सिर्जना हुन सक्ने छ । भाषा मात्र हैन, हाम्रो महान पर्वहरुमा गाईने तोरन्ल क्होई, स्योपन लव क्होई, कुलपूजाको क्होई र प्हरफ्याजी क्होई तत्कालै हरेक क्षेत्रहरुमा प्रशिक्षण दिनु पर्ने अत्यावश्यक छ । जहाँ समस्या र दुःख छ, त्यहाँ समाधान अवश्य हुन्छ भन्ने भगवान गौतम वुद्धको भनाईलाई आत्मसात गर्दै अब शब्दमा मात्र सिमित नभई ब्यवहारमै कार्यन्वयन गर्नु पर्ने जरुरी छ । असम्भव भन्नेकुरा साइदै नहोला, सिरफ हाम्रो दृढ इच्छाशक्तिमा निर्भर रहन्छ ।

आज विश्व नेटवर्किङको जमना वा विज्ञान प्रविधिको युग भन्दा अत्युक्ति नहोला । इन्टरनेट कम्प्युटरको
माध्यमले जीवनलाई सहज सरल मात्रै होइन ,एकै स्थान बाट विश्वभर क्षणभरमा आफ्ना क्रियाकलाप वा गतिविधिहरु एकआपसमा जानाकारी लिन दिन सक्छौ, यसै उद्देश्यका साथ थसेस केन्द्रलाई पनि संस्थागत हिसावले वेवसाइटको आवश्यक्ता महसुश गरि thakalisamajnepal.org  थकाली सेवा सिमित नेपालकाे वेवसाइट यहाँहरुको सेवामा उपलव्ध गर्न पाँउदा खुशी लागिरहेको छ । यसै वेवसाईटको माध्यम्द्धारा विश्वभरि छरिएर रहेका विशेष गरि थकाली समुदाय र नेपाली दाज्यूभाई दिदी बहिनीहरुलाई थसेस नेपाल, केन्द्रको गतिविधि क्रियाकलाप र थकाली स‍ंस्कृति संस्कार यहि वेवपेज द्धारा जानकारी दिने प्रयास हुने छ ।

थसेस केन्द्र थकालीजातिको पवित्र नाफा रहित सेवामुलक साझा संस्था हो, यहाँहरुकै अमुल्य सहयोग, सद्भाव, सल्लाह सुझावले नै यो संस्था सकरात्मक दिशा तर्फ अगाडि बढिरहेको छ र भविष्यमा पनि सदा अमूल्य सल्लाह सुझाव सद्भाव र सहयोगको अपेक्षा गर्दै ,थसेस केन्द्रलाई प्रारम्भदेखि हालसम्म प्रत्यक्ष वा अप्रत्यक्ष तन, मन धनले अतुलनीय सहयोग गर्नुभई अनुकरणीय योगदान पुर्‍याउनु भएका र भविष्यमा पनि निरन्तर सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय महानुभावज्यूहरुमा हार्दिक आभार प्रकट गर्दैे धन्यवाद ज्ञापन गर्दछु । हाम्रा चार ल्ह् र महागुरु नरीच्ह्योवले  हामी सबैको रक्षा र कल्याण गरुन ।