संक्षिप्त परिचय

thasang_com

थकाली जातिको उद्‍गम स्थल

प्रकृतिको अनुपम उपहारले सुशोभित अत्यन्तै मनोरम स्वर्ग तुल्य धवलागिरि निलगिरि हिम श्रृङ्‍खलाको काखमा अवस्थित  थासाङ वा (थाक सातसय) भन्नाले थकाली समुदायको पवित्र धार्मिक स्थल ,पितृथलो वा थकाली जातिको उद्‍गम स्थल हो । यो मुस्ताङ जिल्लाको दक्षिणी भूभागमा पर्दछ । थकाली भन्नाले  थकाली सेवा समिति नेपालको विधान–२०४९ अनुसार थकालीहरुको संकृति संस्कार र जीवन पद्धति बमोजिम क्ह्यूले स्वीकार गरेका च्योकी (गौचन), साल्की (तुलाचन) ट्हीम्चन् (शेरचन) र प्हुर्की (भट्टचन) चार  थरलाई जनाउंछ ।  थकालीजातिको “र्‍हप वंशगाथा अनुसार हाम्रा चारै आदिपूर्खाहरु गौचनका पूर्खा ऐनि ऐरम् , तुलाचनका पुर्खा सम्लीढेन् सम्ली च्याङ ,शेरचनका पूर्खा ढाक्पा क्लेचन    भट्टचनका पूर्खा पाउकुतीलाई सामुहिक रुपमा थाचन खे भनी उल्लेख गरिएको छ । हाम्रा यी आदि पूर्खाहरु अति प्रभावशाली र दूरदर्शी थिए भन्ने कुरा थकाली जातिको इतिहासले दर्शाउंछ ।  त्यसबेला थाक सातसयका थकालीहरु यस भेगका हर्ताकर्ता थिए र थकालीहरुले आफ्नो स्वायत्त शासन चलाएका थिए ।
इतिहास भनेको अतीत र वर्तमानको संवाद हो ।  History is dialogue between past and present.  थाचनखेहरु थासाङ भूमीमा बसोवास गर्नु अघि ढुङ्गामाटो ,पानी परिक्षण गरि बस्न उपयुक्त ठाँउ मानि बसेको पाइन्छ । थकाली जातिको इतिहासको मुख्य श्रोत भनेकै “र्‍हप वंशगाथा हो । चाल्स डारविनले सन् १८७१ मा प्रकाशित उनको प्रशिद्ध पुस्तक The Decent of man . मा उल्लेख गरेका अनुसार मानव जातिको उदय अपुच्छ बाँदरको कुनै पुर्खाबाट भएको हो भन्ने कुरा बैज्ञानिक चाल्सले नै भनिसकेका छन् । अतः बाँदरको पुर्खा सम्म पछाडि दौडनु भन्दा अब थकाली जातिको सभ्यता र विकास थाक सात सय बाट नै प्रारम्भ भएको थियो र यस भूमिका भूमि पुत्र नै हामी आदिवासी जनजाति थकाली हौं र थकाली हुनुमा नै थकालीजातिले गौरव मान्दछौ । 

थाक सात सयको आफ्नै भूभाग साँध सिमाहरु कायम छन् । आफ्नै भेष–भूषा भाषा, संस्कृति, रीतिथिति ,संस्कार ,परम्परा कलाहरु छन् । थाक सात सयका पुरातात्विक महत्वका  ल्ह् त्हिम् ,खिमी त्हिम् ,देवी देवाताहरु, गुम्वा, मन्दिर, मुर्तिकला र सम्वद्ध कागजात, अभिलेखहरु हाम्रा बहुमुल्य सम्पदाहरु हुन्, यसैको संरक्षण संवर्द्धनको  कार्य गर्न आवश्यक चेतना जागरण र समुदायको सामाजिक आर्थिक, बौद्धिक, सांस्कृतिक पक्षलाई उच्च प्राथमिकता दिई सर्वाङ्गीण विकासको लागि  प्रयास गर्ने सद्उद्देश्यका साथ वि.सं. २०४० सालमा पहिलो पटक पोखरामा स्थापना भएको थकाली सेवा समिति नेपाल केन्द्र थकाली सेवा समितिहरुको छाता संघ हो ।
नेपालको विभिन्न भूभागहरुमा थकाली सेवा समिति हाल सम्म १९ क्षेत्रहरुमा सेवारत छन् भने विदेशमा थकाली सेवा समिति जापान, थकाली सेवा समिति अष्ट्रेलिया, थकाली सेवा समिति यु.के., थकाली सेवा समिति अमेरिका, थकाली सेवा समिति हङकङ, थकाली सेवा समिति बेल्जियम, थकाली सेवा समिति दक्षिण कोरिया  स्थापित छन् । “
All for One, Or One for All.” को सिद्धान्तलाई आत्मसाथ गर्दै यसरी जहाँजहाँ थकाली समुदाय पुग्छन् त्यहाँ थकाली जाति एकताबद्ध भएर समाज र राष्ट्रको हक हितको लागि अतुलनिय योगदान र सहयोग पुर्‍याएको छ ।

    यो वेवसाईट खोल्नुको मूलभूत उद्देश्य भनेकै थसेस केन्द्रका लक्ष्य र उद्देश्यहरु, हरेक गतिविधि क्रियाकलापहरु र थकाली इतिहास, संस्कृति संस्कार परम्परा रीतिथिती हरेक चाडपर्वका अभिलेखहरु, बिना कागज इलेक्ट्रोनिक प्रविधि मार्फत विश्वभरी छरिएर रहेका नेपाली, थकाली बन्धुहरु सामु सहज रुपमा  सूचना र ताजा खवरहरु प्रवाह वा जानाकारी गर्नु नै हो । किनकी २१औं शताव्दी भनेको सूचना प्रविधिको डिजिटल युग हो । वेवसाइटमा के के सुधार गर्नु पर्छ र के कस्ता कुराहरु समावेश गरिनु पर्दछ भन्ने बारेमा अमूल्य सल्लाह सुझाव उपलव्ध गराई दिनुहुन पनि निवेदन गर्दछु । साथै यस वेवसाइटमा विज्ञापन दिएर सहयोग पुर्‍याउनु हुने संघ–संस्था र फोटो, भिडियो लेखहरु उपलब्ध गर्नु भएका सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छु ।

वेवसाइट व्यवस्थापन
संयोजक
नरेशकुमार तुलाचन


  • image
  • image

सम्पर्क ठेगाना

थकाली सेवा समिति नेपाल, केन्द्र
केन्द्रीय कार्यालय
विनायकबस्ति, बालाजु
काठमाडौं, नेपाल
01-4381362
thakalicc@yahoo.com
thakalisamaj.org